उदयपुरका तत्कालीन ६ गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका ६ जना सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं, असोज १३ : अख्तियारले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका ६ जना सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सामाजिक सुरक्षा भत्ताको १६ लाख ४० हजार पाँच सय रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । ८–१० वर्षअघि नै मृत्यु भइसकेका व्यक्ति र दोहोरो नाममा उनीहरूले सामाजिक सुरक्षा भत्ता निकासा गरेर हिनामिना गरेको ठहर अख्तियारले गरेको छ ।
आर्थिक वर्ष ०६३–६४ देखि ०७१–७२ सम्म गाविस सचिव बनेका उनीहरूले उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
हाल मालपोत कार्यालय, उदयपुरमा कार्यरत नायब सुब्बा केशवप्रसाद आचार्य, हाल रौतामाई गाउँपालिका–७ का वडा सचिव खरिदार लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा रहेका खरिदार विशाल सुन्दास, रौतामाई गाउँपालिकाका अधिकृत (छैटौंँ) माधवप्रसाद खतिवडा र अवकाशप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको हो । उनीहरू ०६३–६४ देखि ०७१–७२ सम्म गाविस सचिव थिए ।











