Kathmandu Press

इतिहासमै पहिलोपटक अश्वेत जातिका पर्वतारोही मात्र रहेको टिम सगरमाथा आरोहण गर्दै

यदि ‘फुल सर्कल एभरेस्ट एक्स्पेडिसन’ अपेक्षाकृत सफल भएर आरोहण दलका सबै सदस्य शिखरमा पुग्न सफल भए भने विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो अफ्रिकन–अमेरिकन टोलीको सदस्यका रूपमा उनीहरूको नामांकित हुनेछ।
इतिहासमै पहिलोपटक अश्वेत जातिका पर्वतारोही मात्र रहेको टिम सगरमाथा आरोहण गर्दै

काठमाडौं, असोज १३ : फिल एन्डरसनको बुझाइमा बाहिरी क्रियाकलापको दुनियाँ खोलाजस्तो हो। मुख्यतः गोरा जातिका पर्वतारोहीको बाहुल्य रहेको यो दुनियाँले अश्वेत जातिलाई स्वीकार्न निकै धेरै समय लाग्यो।

गोरा जातिको एकछत्र राज रहेको त्यो दुनियाँमा पनि परिवर्तन आउन थालेको छ। १२ वर्षमा खोला पनि फर्किन्छ भनेजस्तै बाहिरी क्रियाकलापको दुनियाँ पनि पूरानो सोचबाट उदारतातर्फ फर्किसकेको छ। हरेक क्षेत्रमा हरेक रंगका व्यक्तिहरूको विविधतापूर्ण र उत्साहजनक सहभागिता हुन थालेको एन्डरसनको अनुभव छ।

अमेरिकाको कोलोराडो राज्यका पर्वतारोही एन्डरसन विश्वका अग्ला शिखर आरोहण गर्ने अभियानमा सहभागी गाइड, पर्वतारोही तथा आयोजकहरूलाई प्रशिक्षण दिन्छन्। एन्डरसनको नेतृत्वमा अहिले इतिहासकै पहिलो अश्वेत जातिका पर्वतारोही मात्र सम्मिलित टिम सगरमाथा आरोहण गर्ने अभियानमा छ। ‘फुल सर्कल एभरेस्ट एक्स्पेडिसन’ अभियानले बाहिरी क्रियाकलापको क्षेत्रमा बढ्दो विविधतापूर्ण सहभागितामा ठूलो टेवा पुर्‍याउने सबैको विश्वास छ।

‘हामीलाई थप बल चाहिएको छ। हामीलाई अझै सशक्त बन्नु छ,’ सगरमाथा आरोहण गर्ने अभियानका बारेमा एन्डरसनले एसोसिएट प्रेसलाई भनेका छन्, ‘यसले हामीलाई निकै हौसला दिएको छ। हामी हाम्रो क्षमताको उच्चतम विन्दुमा पुग्दैछौँ।’

अमेरिकाको पहिलो आरोहण दलले सन् १९६३ मा विश्वको सर्वोच्च शिखरमा पाइला टेकेको थियो। यो डा. मार्टिन लुथर किङले ऐतिहासिक ‘आइ ह्याभ अ ड्रिम’ मन्तव्य दिएको वर्ष हो। त्यसको ५८ वर्षपछि नौजना अफ्रिकन-अमेरिकन जातिका पर्वतारोही सम्मिलित ‘फुल सर्कल एभरेस्ट एक्स्पेडिसन’ टिम सर्वोच्च शिखर आरोहण गर्ने तयारीमा छ।

एन्डरसनले अहिलेसम्म नेपाल र दक्षिण अमेरिकामा थुप्रैपटक हिमाल आरोहण गरिसकेका छन्। उनले यसअघि पनि अश्वेत जातिका व्यक्ति मात्र सम्मिलित आरोहण दललाई तान्जिनियास्थित माउन्ट किलिमन्जरोको शिखरमा पुर्‍याइसकेका छन्। उनले धेरै दशकदेखि ‘आउटडोर इन्डस्ट्री’लाई आफ्नो उपेक्षित समुदायसम्म पुर्‍याउन उदाहरणीय भूमिका वहन गरेका छन्।

सगरमाथा आरोहण अभियान सुरु गर्न पनि निकै सकस भएको एन्डरसनको अनुभव छ। सकसको सुरुवात प्रायोजकको खोजीबाट सुरु भएको थियो। सगरमाथा आरोहण र त्यसको तयारी निकै खर्चिलो हुन्छ। तर, त्यहाँदेखि यहाँसम्मको यात्रामा उनले परिवर्तनको धेरै चरण देखेका छन् भने आफू नै परिवर्तनको संवाहक बन्ने भएका छन्।

‘म यो आरोहणसँग भावानात्मक रूपमा जोडिएको छु,’ उनी भन्छन्, ‘हाम्रो समुदायका लागि बाहिरी क्रियाकलाप किन महत्त्वपूर्ण छ, प्रकृतिसँग नजिक रहन किन आवश्यक छ भनेर मैले सधैँ सबैलाई भन्ने गरेको थिएँ। अहिले आएर हेर्दा म त्यही कुरा सार्थक बनाउन काम गरिरहेको रहेछु। त्यही बाँचिरहेको रहेछु। त्यो अनुभुति निकै आनन्ददायी रह्यो।’

‘बगैंचा स्याहार्ने होस् वा बर्ड वाचिङ, हाइकिङ, ट्रेकिङ, स्किइङदेखि सगरमाथा आरोहण, यी र सबै बाहिरी क्रियाकलापमा अश्वेत जातिका व्यक्तिहरूको सहभागिता हुनुपर्छ। हामी लामो समय घरेलु काममा प्रयोग भयौँ। हामीले अब बाहिरी दुनियाँ हेर्नुपर्छ, बुझ्नुपर्छ,’ एन्डरसनले बताए।

तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथाको शिखर चुमेका थिए। त्यसयताका ६८ वर्षमा धेरैजनाले सगरमाथा आरोहण गरिसकेका छन्।

तर, अहिलेसम्म एकजना पनि अफ्रिकन-अमेरिकन सगरमाथाको शिखरमा पुग्न सकेका छैनन् भने आठजना मात्र अश्वेत जातिका आरोही विश्वको सर्वोच्च शिखरमा पुगेका छन्।

यदि ‘फुल सर्कल एभरेस्ट एक्स्पेडिसन’ अपेक्षाकृत सफल भएर आरोहण दलका सबै सदस्य शिखरमा पुग्न सफल भए भने विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो अफ्रिकन-अमेरिकन टोलीका सदस्यका रूपमा उनीहरूको नामांकित हुनेछ। साथै, सगरमाथाको सफल आरोहण गर्ने अश्वेत जातिका व्यक्तिको संख्या एकैपटकमा दोब्बरभन्दा बढी हुनेछ।

प्रकाशित मिति: १२:०० बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्