Kathmandu Press

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधार : अर्थमन्त्री शर्मा

काठमाडौं, असोज १२ : अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका...
पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधार : अर्थमन्त्री शर्मा

काठमाडौं, असोज १२ : अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन्। 

‘नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ,’ उनले भने। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गरे। 

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहेका उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन्। ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन। 

नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्दै उनले थपे, ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुन सक्छ।’

सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारी दिए।

उनले दलितको लागि पनि आवास योजना अघि सारिएको बताए। यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उनले स्पष्ट पारे।

वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उनले जानकारी दिए। 

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्