सुनजस्तो देखिने पहेंलो धातुसहित दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एक सय ४९ दशमलव पाँच ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित दुईजना पक्राउ परेका छन्।
काठमाडौं, असोज १२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एक सय ४९ दशमलव पाँच ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ का समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठ–१२ बस्ने संखुवासभा खाँदबारी–११ का सन्तवीर राई छन् ।
उनीहरूको साथबाट तीन थान बाला बरामद भएको छ । सिंगापुर एयरलाइन्सको उडानमार्फत मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाइछिपाई लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने सात सय ५० ग्राम पहेंलो धातुको बाला १४ थान र सिक्री एक थान आइतबार प्रहरीले बरामद गरेको छ । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेका बेला उक्त धातु बरामद भएको हो ।
तस्कर समूहले त्यसका लागि १५ जना यात्रुलाई प्रयोग गरेको खुलेको छ । उनीहरूलाई काठमाडौंका होटलहरूमा उक्त धातु लिन आउने तस्कर समूहले बताएको थियो ।











