Kathmandu Press

मन्त्रिमण्डल विस्तारको तयारीमा सत्ता गठबन्धन, बिहीबारसम्म पूर्णता दिने तयारी

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि सत्ता गठबन्धनका पाँच दल मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्यमा जुटेका छन्।
मन्त्रिमण्डल विस्तारको तयारीमा सत्ता गठबन्धन, बिहीबारसम्म पूर्णता दिने तयारी

काठमाडौं, असोज १२ : राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि सत्ता गठबन्धनका पाँच दल मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

खासगरी, जसपा र नेकपा (एकीकृत समाजवादी)ले आफ्नातर्फबाट मन्त्री बन्ने नेताको नाम टुंगो लगाउन गृहकार्य थालेका छन् ।

सरकारमा हाल कांग्रेस र माओवादी केन्द्रका पाँच मन्त्रीले आ–आफ्नो पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की    र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रको कोटाबाट मन्त्रिपरिषदमा सहभागी छन् ।

जसपा र एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउन बाँकी छ । सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नभई बाहिरै बसेर समर्थन गर्ने बताएको छ ।

एक जसपा नेताका अनुसार सकेसम्म पाँच मन्त्री र एक राज्यमन्त्री दाबी गर्ने तयारीमा उक्त पार्टी छ । एकीकृत समाजवादी पनि पाँच मन्त्री र एक राज्यमन्त्रीको दाबी गर्ने तयारीमा रहेको उक्त पार्टीका एक नेताले जानकारी दिए ।

एक–एकवटा ठूला मन्त्रालयसहित सरकारमा भागबन्डा खोज्ने योजना जसपा र एकीकृत समाजवादीको देखिन्छ । ठूला दल भएको नाताबाट कांग्रेस र माओवादी केन्द्रलाई एक–एकवटा बढी मन्त्रालय दिनुपर्नेमा जसपा र एकीकृत समाजवादीका नेताहरू सहमत देखिन्छन् ।

एक कांग्रेस नेताका अनुसार मंगलबार साँझ पाँच दलको बैठक बसेर मन्त्रालयको भागबण्डा टुंग्याउने योजना छ । त्यसपछि बुधबार साँझ या बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना रहेको उनले बताए ।

‘हालसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्नुको एक मात्र कारण राजनीतिक दलसम्बन्धी अध्यादेश थियो । अध्यादेश खारेज भएपछि बाटो खुलेको छ,’ ती कांग्रेस नेताले भने, ‘मन्त्रालय भागबण्डामा धेरै ठूलो समस्या छैन । त्यसैले बिहीबारसम्ममा मन्त्रिपरिषद विस्तार भइसक्ने सम्भावना छ ।’

प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्