Kathmandu Press

एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक 

काठमाडौं, असोज ११ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको...
एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक 

काठमाडौं, असोज ११ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताए। 

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकाले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको स्पष्ट पारे।

उनले भने,  ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ ।’ लेखकले सरकार गठन भएको सय दिनसम्म सरकारका बारेमा खासै टिप्पणी नगर्ने प्रचलन रहेको सुनाए।

उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए । तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाइ छ । उनले भने, ‘बरु, यो तीन वर्षमा नेकपाको सरकारबाट संविधान कुल्चिने काम भयो । प्रकारान्तरले नेकपा तीन टुक्रा भयो । कांग्रेसले बाध्यताले सरकारको नेतृत्व ग्रहण गरेको हो । हामीले बडो सहज अवस्थामा सरकारको नेतृत्व लिएको होइन । सरकार गठन भइसकेपछि गठबन्धनमा रहेका दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा गर्यौं। त्यसमा सरकारले के–के काम गर्ने प्राथमिकता भनेर पहिचान गर्ने काम भएको छ।’

नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई खासगरी कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको सुनाए।

उनले भने, ‘कोभिडको जोखिमबाट जनतालाई बचाउने भनेर सरकारले पनि घोषणा गरेको छ। यो विषय गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पनि अभिव्यक्त भएको छ। कोभिडको प्रभावले मुलुकमा परेको नकारात्मक प्रभाव, यी सबै नकारात्मक प्रभावालाई न्यूनीकरण गर्ने, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने भनेर प्राथमिक कामको पहिचान गरेको छ । आज जनतालाई कोभिडबाट बचाउनको लागि सरकारले अत्यन्तै द्रुत गतिमा खोपको व्यवस्था गरेको छ। कोरोनाबाट जनता जोगाउने कामममा सरकार लागेको छ। अहिले संक्रमण दर घटिरहेको छ। अस्पतालमा भर्ना हुनेको दर घटेको छ। मृत्यु हुने दर पनि घटेको छ। सरकार अहिले कोभिडविरुद्धको लडाई लडिरहेको छ।’

त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाए। उनले भने,‘महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ। क्रियाशील सदस्यताको विवाद छैन। ६९ जिल्लाको क्रियाशील सदस्यताको कामकुरा सम्पन्न भइसकेको छ। अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ । आठवटा जिल्लाको क्रियाशील सदस्यताको गर्नुपर्ने निर्णय भइसकेका छन्। निर्णयबमोजिम कार्यसम्पादन गर्नुपर्ने केही काम बाँकी छन्। आज÷भोलिमा यी काम सम्पन्न हुनेछ।’ दसैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाइ थियो। 
 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्