२८ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध पूर्ण खोप, ३० प्रतिशतलाई पहिलो डोज
प्रधानमन्त्री शेरबहादुर देउवाले २९ असारमा नियुक्त भएलगत्तै कोरोनाविरुद्ध खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र असोज मसान्तसम्ममा ३३ प्रतिशत जनसंख्यामा खोप पुर्याइने घोषणा गरेका थिए।
काठमाडौं, असोज ११ : सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरसविरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ।
सरकारले असोज मसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो। सोहीअनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए। ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भनेका थियौं,’ उनले भने, ‘सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छौं। असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्याउँछौं।’
प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भएलगत्तै कोरोना भाइरसविरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र असोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गरेका थिए। सोहीअनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो।
सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ।
सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउन सक्ने जनाएको छ। पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ। खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ।
अहिले दैनिक एक लाखभन्दा बढीजनाले खोप लगाइरहेका छन्। अहिलेसम्म पूर्व रुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन्। उहाँका अनुसार कुल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन्।
अहिले ६६ लाख ९ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन्।
खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ। आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ। अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ। नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो। नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो। सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए।
कुन जिल्लामा कतिले खोप लगाए
सबभन्दा बढी काठमाडौं उपत्यकामा जनसङ्ख्यालाई खोप लगाइएको छ। काठमाडौं जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसङ्ख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसङ्ख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ।
यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ। उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ। रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ। यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ।
यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ। स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ।
कुन प्रदेशमा कतिले खोप लगाए
मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ। वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइएको छ। गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४÷२४ प्रतिशत जनसङ्ख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ।
यस्तै प्रदेश १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए।
‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौं,’ उनले भने, ‘सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौं।’ सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।
मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ।
यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदैछ।
नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ। सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ। सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ।
बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइनेछ। मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताउए।
उहाँका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ। यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उहाँले बताउनुभयो। कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ। कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ। सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ।
सार्कमा नेपाल चौथो
कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ। सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ। त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२।६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा. अधिकारीले बताए। (रासस)











