Kathmandu Press

पाँचथरका सबै पालिकामा कांग्रेस नेतृत्व चयन

पाँचथर, असोज ११ : पाँचथरका आठ स्थानीय तहमध्ये कांग्रेसले तीन स्थानमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ। बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट...
पाँचथरका सबै पालिकामा कांग्रेस नेतृत्व चयन

पाँचथर, असोज ११ : पाँचथरका आठ स्थानीय तहमध्ये कांग्रेसले तीन स्थानमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ। बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ।

जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो। चौध वडा रहेको फिदिम नगरपालिकाको सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ र केशव नेम्वाङको समूहबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

२६१ क्षेत्रीय प्रतिनिधि रहेकामा २६० ले मतदानमा भाग लिएका थिए। नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी भए। उहाँका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गरे।

फिदिम नगरकार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी भए। उनीहरुले समान १३७ मत प्राप्त गरे।

उपसभापतिका अर्का उम्मेदवार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गर्नुभयो। सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई, सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी भएका छन्। नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुई जना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चारजना वडाध्यक्ष छन्। 

फाल्गुनन्द गाउँ कार्यसमितिको सभापतिमा सुकवीर नेम्वाङ विजयी भएका छन्। आइतबार राति सम्पन्न मतगणना अनुसार नेम्वाङले ६३ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गरेका छन्।

सात वडा रहेको फाल्गुनन्दमा कांग्रेसका १ सय ३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १ सय २२ जना मतदान प्रक्रियामा सहभागी थिए। गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ। 

यस्तै याङ्वरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सविन माबोले ५१ मत प्राप्त गरे। 

सचिवमा रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल, सहसचिवमा तिलबहादुर राई र कृष्ण कोइराला विजयी भए। उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङ्हाङ सर्वसम्मत निर्वाचित   भए।

बाँकी पाँच गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भए। सोअनुसार फालेलुङ गाउँपालिकाको सभापतिमा वीरविक्रम थाम्सुहाङ, हिलिहाङमा सन्तोष लिङ्देन, कुम्मायकमा दुर्गाप्रसाद बम्जन, तुम्बेवामा बाबुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ।

कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ। उनीहरुमध्ये कतिपय जनप्रतिनिधिसमेत छन्। आठमध्ये चार स्थानीय तहका सभापति वडाध्यक्ष छन्।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्