Kathmandu Press

प्रतिनिधिसभामा सोमबार पनि एमालेको नाराबाजी

प्रतिनिधिसभामा एमाले सांसदहरूले सोमबार पनि नाराबाजी कायम राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकको कारवाही सुरु गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गरेका हुन्।
प्रतिनिधिसभामा सोमबार पनि एमालेको नाराबाजी

काठमाडौं, असोज ११ : प्रतिनिधिसभामा एमाले सांसदहरूले सोमबार पनि नाराबाजी कायम राखेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकको कारवाही सुरु गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी)मा गएका आफ्ना १४ जना पूर्वसांसदहरूलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले निरन्तर सदन बैठक अवरुद्ध गर्दै आएको छ । सोमबार पनि त्यसैलाई उक्त पार्टीले निरन्तरता दिएको हो ।

सोमबारको राष्ट्रियसभामा पनि एमाले सांसदहरूले सिटबाट उठेर बैठक अवरुद्ध बनाएका थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिटमा बसेर बैठक अगाडि बढाउन सहयोगको आग्रह गर्दा पनि एमाले सांसदहरूले नमानेपछि उनले बैठक अगाडि बढाएका थिए ।

प्रतिनिधिसभामा पनि सभामुख अग्निप्रसाद सापकोटाको आग्रह एमाले सांसदहरूले बेवास्ता गर्दै आएका छन् ।

नाराबाजीबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेको बेहोरा उल्लेखित राष्ट्रपतिको कार्यालयबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । यस्तै, राष्ट्रियसभाले सोमबार नै ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेर पठाएको बेहोरा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका थिए ।

प्रतिनिधिसभाको बैठक १४ असोजसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्