एकै दिन दुई जहाजमा समस्या, बुद्ध एयर भन्छ- सुरक्षित यात्रामा प्रतिबद्ध छौँ
निजीक्षेत्रको हवाई कम्पनी बुद्ध एयरका एकै दिन दुई जहाजमा समस्या देखिएको छ । दुवै जहाज एटीआर–७२ मोडलका हुन् ।
काठमाडौं, असोज ११ : निजीक्षेत्रको हवाई कम्पनी बुद्ध एयरका एकै दिन दुई जहाजमा समस्या देखिएको छ । दुवै जहाज एटीआर–७२ मोडलका हुन् ।
काठमाडौंबाट विराटनगर गएको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाजको ल्यान्डिङ इन्डिकेटरमा समस्या देखिएपछि सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फिर्ता गरी आकस्मिक अवतरण गराइएको छ ।
यस्तै, सोमबार नै काठमाडौंबाट पोखरा उडेको एटीआर–७२ मोडलको ‘९ एन–एजेओ’ कलसाइनको जहाजको ककपिटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचपछि पुनः पोखरा पठाइएको छ ।
विराटनगर उडेको जहाजमा चालक दलका चार सदस्य र ७३ जना यात्रु थिए । इन्डिकेटरमा मात्र समस्या देखिएको र ल्यान्डिङ गियरले काम गरिरहेको काठमाडौंको आकाशमा आएपछि मात्र खुलेको थियो । प्राविधिकहरूले दूरबिनमार्फत समस्या यकिन गरेका थिए ।
एकै दिन दुई जहाजमा समस्या देखिए पनि बुद्ध एयरले भने सुरक्षित हवाई यात्रामा प्रतिबद्धता जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा नपुग्दै ककपिटमा धुवाँ देखिएपछि ‘९ एन–एजेओ’ जहाजलाई चालक दलले जोखिम नमोली काठमाडौं फर्काएको थियो । ‘९ एन–एएनआई’ जहाजमा भने विराटनगर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरले ल्यान्डिङ गियर नदेखिएको बताएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी र जहाजको इन्धन घटाउने प्रयासका लागि केहीबेर जहाजलाई आकाशमै होल्ड गराइएको थियो ।
‘सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गराइएको छ,’ बुद्ध एयरको विज्ञप्तिमा भनिएको छ ।
उक्त कम्पनीका अनुसार जहाजमा ल्यान्डिङ गियरका लागि दुईवटा इन्डिकेटर हुन्छन् । तीमध्ये प्राइमरी इन्डिकेटरमा संकेत देखिएन तर सेकेन्डरी इन्डिकेटरमा सबै ठीकठाक रहेको पाइएको छ ।
‘सुरक्षामा शून्य सहनशीलता’को नीतिअनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निर्णय गरेको विज्ञप्तिमा बताइएको छ । ‘काठमाडौंको आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही अवस्थामा रहेको जानकारी प्राप्त गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘र, अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार काठमाडौं विमानस्थलमा सुरक्षित साथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो । हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिवद्धता व्यक्त गर्छौँ ।’











