Kathmandu Press

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

काठमाडौं, असोज १० : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले भोलिदेखि दसैँमा घर जानका लागि...
अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

काठमाडौं, असोज १० : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। 

प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको राससलाई जानकारी दिए। नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ। 

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताए। ‘म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,’ महासचिव सिटौलाले भने। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्