एमाले विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुने
काठमाडौं, असोज १० : नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर पाँच हजार पुर्याएको छ।यसअघि तीन हजार प्रतिनिधि...
काठमाडौं, असोज १० : नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर पाँच हजार पुर्याएको छ।
यसअघि तीन हजार प्रतिनिधि र मनोनीत १० प्रतिशत गरी करिब तीन हजार ५०० जना प्रतिनिधि हुने भनिएकोमा केन्द्रीय कमिटी बैठकले पाँच हजार प्रतिनिधि सहभागी हुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
केन्द्रीय कमिटीका सबै, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मंचका सबै पदाधिकारी र सदस्य, प्रदेशका कमिटीका सबै सदस्य, प्रत्येक केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीसहित १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लामा रहेका निर्वाचन क्षेत्रबाट एक जना अनिवार्य गरी दुई जनाले र प्रत्येक जिल्लाबाट दलित सदस्यले भाग लिनेछन्।
यस्तै, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा पालिकाका प्रमुख र उपप्रमुख पार्टीका सदस्य रहेकाले पनि भाग लिन पाउने छन्।
पार्टी एकीकरणको प्रक्रियामा सामेल भएका पार्टीका नेता तथा कार्यकर्तालाई पनि सम्मानजनक ढंगले सहभागी गराउने भट्टराइले बताए।
यसका अलावा १० प्रतिशत केन्द्रीय कमिटीले महाधिवेशनका लागि प्रतिनिधिको मनोनयन गर्ने उनले बताए।











