Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : सुझावसहित तीनवटै प्रतिवेदन पारित

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : सुझावसहित तीनवटै प्रतिवेदन पारित

काठमाडौं, असोज १० : एमालेको शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज (आइतबार) सम्पन्न भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको आजको बैठकले आसन्न विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक, विधान मस्यौदा प्रतिवेदन पारित गरेको छ।

एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरमा हुँदैछ। शुक्रबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान मस्यौदा प्रतिवेदन पेस गरेका थिए। 

ती प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरिएको थियो। शनिबारको बैठकमा ती समूहका टोली नेताले सुझावसहितको भनाइ राखेपछि त्यसमाथि व्यापक छलफल भएको थियो। आजको बैठकमा ओलीले प्रतिवेदनमाथि उठेका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए।   ती सबै प्रतिवेदन सुझावसहित पारित गरिएको हो। पदाधिकारी संख्या हेरफेर र उमेर हदबारे केन्द्रीइ सदस्यहरूबीच व्यापक बहस भएको थियो।

ओलीको सम्बोधनपछि उपमहासचिव धनश्याम भुसालले जबज, संसद विघटन र समाजवादबारे फरक मत दर्ज गराएका छन्। 

१० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा पनि आवाज उठेको थियो। पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे स्थायी कमिटी बैठकमा छलफल हुने जनाइएको छ।

१० बुँदेसहित केन्द्रीय कमिटी बैठकबाट आएका सुझावबारे छलफल गरी निर्णय लिन एमालेले भोलि (सोमबार) ११ बजेका लागि का लागि स्थायी कमिटीको बैठक बोलाएको छ।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्