कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर, असोज ९ : नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ। कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ।
आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए। आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांग्रेसले तालिका तयार गरेको छ। भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशनस्थलमा बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ।
चारै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ। अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरुको समूहको रुपमा नभई स्थानीय परिस्थिति अनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशनस्थलमा उपस्थित जिल्लास्तरीय एक नेताले बताए। कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ।
नगर अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप चलेको छ। नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ। जिल्लाका शीर्ष कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । मुख्य गरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी अष्टकुमार कवेँको समूहबीच चारवटै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने बताइएको छ।
जिल्ला सभापति थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन्। भक्तपुर नगरमा वर्तमान् सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्यविनायक नगरमा जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका बताइएको छ। रासस











