Kathmandu Press

असोज १५ देखि आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

काठमाडौं, असोज ८ : न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित...
असोज १५ देखि आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

काठमाडौं, असोज ८ : न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्न लागेको हो।

निष्काशन गरिने साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन दिन पाउने भएका छन्।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले हाल लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु. छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु. २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने जनाएको छ।
    
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ।

कम्पनीले आफ्नो जारी पूँजी रु. एक अर्ब ५० करोडको प्रतिशेयर रु. १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु. १० अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको थियो जसको बाँडफाँट गत बुधबार भइसकेको छ। 

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्