Kathmandu Press

एमिकस क्युरी उपस्थित नहुँदा सुुनुवाइ प्रभावित

काठमाडौं, असोज ८ : सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण...
एमिकस क्युरी उपस्थित नहुँदा सुुनुवाइ प्रभावित

काठमाडौं, असोज ८ : सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘नेपाल बार एसोसिएन र सर्वोच्च बार एसोसिसनबाट दुई÷दुई जना एमीकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुनेबित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ।’

उक्त विवादमा एमिकस क्युरीका लागि नेपाल बारबाट अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई र सर्वोच्च बारले सो बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णय गरेको थियो। इजलासमा एमिकस क्युरी उपस्थित नभएपछि इजलासले अन्य आदेश जारी गर्दै पेसी सारेको छ। 

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले उक्त विवादमा गत भदौ ४ गते रिट निवेदन दायर गरेका थिए। 

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्