Kathmandu Press

कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि

काठमाडौं, असोज ८ :  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति अर्थात् शनिबार (असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ। कांग्रेस पदाधिकारी...
कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि

काठमाडौं, असोज ८ :  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति अर्थात् शनिबार (असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ। 

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

ती जिल्लामा दशैं अघिसम्म पालिका अधिवेशन मात्र सम्पन्न हुनेछन्। हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याएर वडा अधिवेशन प्रारम्भ गर्ने सहमति भएको छ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो। कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको केही विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन।
 
कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्