महाधिवेशनको मिति सार्ने विषयमा पार्टीभित्र छलफल भएको छैन, कुनै प्रस्ताव आएको छैनः कांग्रेस
पार्टीको केन्द्रीय महाधिवेशनको मिति सार्नेबारेमा कुनै प्रस्ताव नआएको र छलफल पनि नभएको कांग्रेसले जनाएको छ।
काठमाडौं, असोज ८ : पार्टीको केन्द्रीय महाधिवेशनको मिति सार्नेबारेमा कुनै प्रस्ताव नआएको र छलफल पनि नभएको कांग्रेसले जनाएको छ ।
शुक्रबार सिंहदरबारमा भएको पार्टी पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन् ।
महाधिवेशनको मिति पर सार्नेबारे कुनै नेताले कुनै प्रस्ताव नगरेको शर्माले खुलाए । महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनको मिति पर सार्ने प्रस्ताव गरेको समाचार केही सञ्चार माध्यममा प्रकाशित भएको थियो । त्यस विषयमा पार्टीका छलफल अहिलेसम्म प्रवेश नगरेको उनले बताए । ‘त्यो विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिबाटै हामी जान्छौँ,’ शर्माले भने ।
महाधिवेशन सार्नुपर्ने विषय पार्टीभित्र छलफलमै नभएको शर्माले जानकारी दिए । प्रदेश तहको अधिवेशनका कारण केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने उनले बताए । ‘प्रदेश तहको अधिवेशनको डेढ महिनापछि मात्र महाधिवेशनको मिति तय भएको छ,’ उनले भने ।
१३ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद चाँडो समाधानका लागि शुक्रबारको पदाधिकारी बैठकले सम्बन्धित समितिलाई पहलकदमी गर्न निर्देशन दिएको छ । विवादित जिल्लाको हकमा पनि निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्ने प्रयास रहने उनले बताए । कुनै जिल्लाको अधिवेशन पछाडि सार्नुपर्ने भयो भने पनि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा कांग्रेस पदाधिकारीहरूको बैठक सिंहदरबारमा बसेको हो ।
पार्टीभित्र समावेशिताको सवाललाई थप व्यवस्थित गर्नेसम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । चाँडै बस्न केन्द्रीय समितिले त्यसबारे टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।











