Kathmandu Press

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

काठमाडौं, असोज ८ : पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्।मन्त्री खड्का नेतृत्वको...
महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

काठमाडौं, असोज ८ : पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत नेपाली नियोगका अधिकारीले स्वागत गरेको न्युयोर्कबाट परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालले जानकारी दिइन्।

प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी रहेका छन्।

 

प्रकाशित मिति: ०६:४२ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्