Kathmandu Press

कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैंअघि गर्ने

हिमाली भेगमा कात्तिकमै हिउँ पर्ने भएकाले वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो ।
कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैंअघि गर्ने

काठमाडौं, असोज ७ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने भएको छ ।

बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको सिंहदरबारमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिए । हिमाली भेगमा कात्तिकमै हिउँ पर्ने भएकाले वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो ।

कांग्रेसले सूचीमा राखेका हिमाली जिल्लाहरुको नाम भने सार्वजनिक गरिसकेको छैन । क्रियाशील सदस्यता नटुंगिएका हिमाली जिल्लामा भने दशैंपछि मात्र अधिवेशन हुनेछ । यद्यपि, विवाद रहेका १३ जिल्लाको हकमा छिट्टै क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेर दशैं अगाडि नै वडा अधिवेशन सक्ने गरी कार्य अगाडि बढाइएको सचिव श्रेष्ठले बताए ।

यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा भने तोकिएकै समयमा पालिका अधिवेशन हुनेछन् भने क्षेत्रीय र जिल्ला अधिवेशनको हकमा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गर्नेछ । कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

यसअघि कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार ९ असोजमा स्थानीय तह, १२ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्