वैशाखसम्म सबै नागरिकलाई कोरोना खोप : प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो वैशाखसम्ममा सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...
काठमाडौं, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो वैशाखसम्ममा सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।
बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले महामारी प्राकृतिक कुरा भएको यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए । कोरोना भाइरसको खतरनाक रुप नेपालमा आइसके पनि कतिपय मानिसलाई यसबारे जानकारी समेत नभएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
हरेक वर्ष असोज ७ गतेका दिन नेपाल टेलिभिजनले हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्मा पुरस्कृत भएका छन् ।
२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जना सवार हेलिकप्टर बाक्लो हुस्सुका कारण दुर्घटनामा परेर सबैको निधन भएको थियो।
जसमा नेपाल टेलिभिजनका पत्रकार द्वय हेम र सुनिलको निधन भएको थियो। त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ।











