भगिराज इङ्नामलाई मदन पुरस्कार र भैरवबहादुर थापालाई जगदम्बा श्री
काठमाडौं, असोज ७ : २०७७ सालको जगदम्बा श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापा सम्मानित हुने भएका छन्।त्यसैगरी २०७७ को मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक...
काठमाडौं, असोज ७ : २०७७ सालको जगदम्बा श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापा सम्मानित हुने भएका छन्।
त्यसैगरी २०७७ को मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ लाई प्रदान गरिने भएको छ।
आज (बिहीबार) सम्पन्न मदन पुरस्कार गुठीको साधारण सभाले सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्यक्षेत्रको उन्नयनमा समर्पित रहेको भन्दै थापा जगदम्बाश्रीले सम्मान गर्ने निर्णय गरेको हो।
सोही बैठकले नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेको भन्दै ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (१७१९–२०२०) पुस्तकका लागि श्री भगिराज इङ्नामलाई वर्ष २०७७ को मदन पुरस्कार प्रदान निर्णय गर्ने निर्णय गरेको हो।
यस प्रयोजनका लागि गुठीमा प्राप्त २२२ पुस्तकमध्येबाट नौवटा पुस्तकहरू क्रमशः एकलव्यको देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्पग्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुँवर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० (भगिराज इङ्नाम) मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए।
२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विघामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरेको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो।
नेपाल तथा नेपालबाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरू मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाक्य तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति संस्थालाई जगदम्बा–श्री प्रदान गरिन्छ।











