सेनाको रणनीतिक तहमा हुने अन्तर्क्रिया र छलफल महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तर्क्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण...
काठमाडौं, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तर्क्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै विभिन्न चुनौतीहरुको सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार सुरु भएको नेपाली सेनाको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक–२०७८ शुभारम्भ गर्दै रक्षामन्त्रीसमेत रहेका देउवाले नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा स्रोतको सुनिश्चितता गर्न सरकारले हरसम्भव प्रयास गर्ने जानकारी पनि गराए।
प्रधानसेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरशः पालना गर्न कटिबद्ध रहेको स्पष्ट पारे।
प्राप्त जिम्मेवारी पूर्ण रूपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा सेना अडिग रहने विश्वास व्यक्त गर्दै उनले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको जानकारी दिए। विभिन्न गतिविधबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको भनाइ उनको थियो।
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र संवर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजना मूलतः नेपाली सेनाको दीर्घकालीन सोच-२०८७ तथा पुनःसंरचना कार्यहरुको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजीकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जानकारी गराए।
सोही कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयका तर्फबाट प्रधानसेनापति र रक्षा सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो।
बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम छ।
यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियापछि प्राप्त हुने रायसुझावहरुले आगामी दिनमा महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ।
बैठक शुभारम्भ कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पिएसओज रथीवृन्द, सबै कमान्डका कमान्ड सेनापतिहरुलगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिति थियो। बैठक शुक्रबारसम्म चल्नेछ।
















