Kathmandu Press

बागलुङमा संस्थागत सुत्केरी हुनेको दर बढ्दै 

गलकोट, असोज ७ : स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ।स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा...
बागलुङमा संस्थागत सुत्केरी हुनेको दर बढ्दै 

गलकोट, असोज ७ : स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ।

स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्तालगायतले सो प्रगति भएको कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए।

अघिल्लो वर्षदेखि सुत्केरीपश्चात् स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रमसमेत सञ्चालन भए पनि उनीहरुको स्वास्थ्यमा पनि सुधार भएको देखिएको उनले बताए।

Hardik ivf

स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने आर्थिक वर्ष ०७६÷०७७ मा ११ प्रतिशत रहेकोमा गत आवमा १८ प्रतिशत पुगेको प्रमुख गुरौले जानकारी दिए। ‘

आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ,’ गुरौले भने, ‘यस वर्ष सुत्केरीपश्चात् जाँच गर्नेको सङ्ख्या वृद्धि भएको छ ।’

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएकोले यो तथ्याङ्क बढाउन सहयोग गरेको हो। त्यस्तै कतिपय स्थानमा एउटै वडामा पनि दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सुत्केरी सेवा र गर्भ जाँच सेवा दिन थालिएपछि महिला स्वास्थ्यको सङ्ख्या उल्लेख्य बढेको पाइएको हो।

अति दुर्गम मानिने तमानखोलाको नर्जाखानी, लामेला र खुंगाको धिरीसमेतमा एकाइ स्थापना भएका छन्। 

जिल्लाभरि नै घरमै पुगेर सुत्केरीलाई भेट्ने र जाँच गर्ने कार्यक्रमसमेत लागू भएको छ। सरकारी कार्यक्रमबाहेक गैरसरकारी संस्थाले पनि सुरक्षित सुत्केरीको क्षेत्रमा काम गरिरहेका छन्।

त्यसले पनि यसमा उल्लेखनीय प्रगति भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको उनले बताए। परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या पनि एक प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्क छ। 

जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउने दर पनि वृद्धि भएको छ। अघिल्लो वर्ष १४६ क्षयरोगका बिरामी पत्ता लागेकोमा यस वर्ष १४९ पत्ता लगाएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

जिल्लामा कूल पत्ता लगाएका क्षयरोगका बिरामीमध्ये १.४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उनले बताए। रासस
 

प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्