Kathmandu Press

अन्नपूर्ण आधारशिविर अर्को साताबाट खुल्दै

म्याग्दी, असोज ७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल असोज १५ गतेबाट भ्रमणका लागि खुलाइने भएका छन्।अन्नपूर्ण आधारशिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड,...
अन्नपूर्ण आधारशिविर अर्को साताबाट खुल्दै

म्याग्दी, असोज ७ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल असोज १५ गतेबाट भ्रमणका लागि खुलाइने भएका छन्।

अन्नपूर्ण आधारशिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब ६ महिनापछि खुल्न लागेका हुन्। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो।

कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए।

पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको उनले बताए। गत माघ, फागुन र चैत महिनामा न्यून सङ्ख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए। प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।

तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ। अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए।

करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताएका छन्।

पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष रु एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन। (रासस)

प्रकाशित मिति: ०८:०२ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्