दशैंअघि अवरुद्ध राजमार्ग खुलाउन यातायात व्यवसायीको माग
काठमाडौं, असोज ७ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ।महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ...
काठमाडौं, असोज ७ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्।
चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिएको उनले जनाएका छन्।
महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए। यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने उनको भनाइ छ।
राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ।











