बुधबार परराष्ट्र मन्त्री नियुक्त हुने सम्भावना, कांग्रेसका नारायण खड्का मुख्य दाबेदार
संयुक्त राष्ट्रसंघको महासभामा मन्त्रीस्तरकै नेतृत्वमा प्रतिनिधि मण्डल पठाउन अनिवार्य देखिएपछि परराष्ट्र मन्त्री नियुक्तिको तयारी सत्तारुढ गठबन्धनले गरेको हो।
काठमाडौं, असोज ५ : सरकारले बुधबार परराष्ट्र मन्त्री नियुक्त गर्ने सम्भावना देखिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा मन्त्रीस्तरकै नेतृत्वमा प्रतिनिधि मण्डल पठाउन अनिवार्य देखिएपछि परराष्ट्र मन्त्री नियुक्तिको तयारी सत्तारुढ गठबन्धनले गरेको हो ।
महासभामा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरूको ‘साइड लाइन’ बैठकमा नेपालबाट राजनीतिकस्तरको नेतृत्व आवश्यक भएपछि मन्त्री नियुक्तिको बाध्यतामा सत्ता गठबन्धन परेको हो । अहिले सार्कको अध्यक्षता नेपालले नै गरिरहेको छ ।
आफैंले आयोजना गर्ने बैठकमा कर्मचारीस्तरबाट नेतृत्व गराउन नमिल्ने भएपछि परराष्ट्र मन्त्री नियुक्ति गर्ने तयारी अगाडि बढेको सत्तारुढ गठबन्धन स्रोतको भनाइ छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई परराष्ट्र मन्त्री नियुक्त गर्न सहमति दिइसकेको छ ।
प्रधानमन्त्री देउवाको चाहना कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने देखिएको र उनले गठबन्धन बैठकमा उनको नाम प्रस्ताव गरेको स्रोतको भनाइ छ । भोलिसम्ममा अर्को नाम प्रस्तावित नभएमा डा. खड्का नै परराष्ट्र मन्त्री बन्ने लगभग पक्का रहेको सत्तारुढ गठबन्धनका एक नेताले जानकारी दिए ।











