Kathmandu Press

६४ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन, १३ जिल्लाको अझै अन्योलमा 

कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज थप ७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
६४ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन, १३ जिल्लाको अझै अन्योलमा 

काठमाडौं, असोज ५ : कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज थप ७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

आज अधिवेशन हुन बाँकी रहेका २० जिल्लामा अधिवेशन गर्ने भनिए पनि १३ जिल्लाको क्रियाशिल विवाद टुंगिन नसकेपछि ७ जिल्लाको मात्र वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए ।

श्रेष्ठका अनुसार मंगलबार काठमाडौ, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता विवाद हुन नसकेका २० जिल्लाको वडा अधिवेशन एकैपटक मंगलबार गर्ने गरी भदौ २५ गते संशोधित कार्यतालिका ल्याएपनि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेपछि १३ जिल्लामा अधिवेशन हुन नसकेको हो ।

यसअघि गत भदौं १८ गतेबाट शुरु भएको कांग्रेसको वडा अधिवेशन अन्तर्गत आजसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भईसकेको छ । प्रदेश नं २ का (धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिराहा, रौतहट, बारा, पर्सा) आठ जिल्लासहित सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीको वडा अधिवेशन सुरु हुन सकेको छैन ।

यद्यपी, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लाको पालिका अधिवेशन भने तोकिएकै समयमा गर्ने निर्वाचन समितिको तयारी रहेको श्रेष्ठले बताए । कांग्रेसले पछिल्लो पटक असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र असोज १८ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तै, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्