४० वर्षपछि बल्ल सार्वजनिक शौचालय
भद्रपुर, साउन १३ : ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ।
....
भद्रपुर, साउन १३ : ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ।
मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो। शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा छ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार ४० वर्षदेखि नेपालको ‘हङकङ मार्केट’का रूपमा कहलिएको धुलाबारी बजारमा व्यापारीले सार्वजनिक शौचालयको माग गर्दै आएका थिए। अहिले निर्माण भएको सार्वजनिक शौचालयले विदेशी पर्यटक र किनमेलका लागि आउने स्थानीयलाई सुविधा भएको उनले बताए।
धुलाबारी बजारमा चिनियाँ र तेस्रो मुलुकको सामान खरीद गर्न भारतको सिक्किम, दार्जिलिङ, सिलगढी, आसाम, मेघालय, नागाल्याण्ड मात्र नभएर भुटानको फुञ्चोलिङ र बङ्गलादेशको पञ्चगढबाट समेत खरीद आउने गरेको तिम्सिनाले बताए।
शौचालयको निर्माणमा नगरपालिकाले पाँच लाख र मेची उद्योग वाणिज्य संघले चार लाख रूपैयाँ लगानी गरेको निर्माण समितिका अध्यक्ष ललित बोहोराले जानकारी दिए।












