Kathmandu Press

बुढीगण्डकी आयोजना निर्माणमा ढिलाइ गर्नुहुँदैन : डा. भट्टराई

काठमाडौं, असोज ४ : बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सो आयोजना तत्काल निर्माण अघि बढाउन सरकारसँग माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन...
बुढीगण्डकी आयोजना निर्माणमा ढिलाइ गर्नुहुँदैन : डा. भट्टराई

काठमाडौं, असोज ४ : बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सो आयोजना तत्काल निर्माण अघि बढाउन सरकारसँग माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरे।

सोही धर्नामा ऐक्यबद्धता जनाउन पुगेका सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनता पार्टी (राजपा) को संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्। उक्त आयोजना नबने मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने उनको भनाइ थियो।

सरकारले आयोजना निर्माण अघि बढाउन नसक्नु लज्जास्पद भएको पनि उनले बताए। उनले प्रभावित क्षेत्रका बासिन्दा तत्काल माग पूरा गर्न सरकारसँग आग्रह गरे। आयोजना निर्माणमा ढिलाइ गर्नु आयोजना नै नबन्नुसरह भएको उनको भनाइ थियो।

‘नेपाल आफैंले निर्माण गर्ने भनेर अगाडि बढिसकेको सो आयोजनाका लागि पेट्रोलियम पदार्थबाट ४०–५० अर्ब रुपैयाँ जम्मासमेत भइसकेको उनले जानकारी दिए। ‘सबै नेपालीको साझा बनिसकेको यो परियोजना बिभिन्न बहानामा सुरु नहुनु अत्यन्त लज्जास्पद विषय हो,’ उनले भने।

डा. भट्टराईले बुढीगण्डकी आयोजना सामान्य जलविद्युत आयोजना नेपालकै ठूलो पर्यटन आकर्षणको केन्द्र हुन सक्ने सम्भावना बोकेको योजना पनि भएको उनले बताए।

‘बुढीगण्डकी बहुउद्देश्यीय परियोजना हो, यो परियोजना निर्माण सम्पन्न हुँदा फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्छ,’ उनले भने, ‘यो आयोजना क्षेत्र नेपालको ठूलो पर्यटनको आकर्षणको केन्द्र बन्छ।’

आफू प्रधानमन्त्री हुँदा बेला बुढीगण्डकी आयोजना विकास समितिले पुनर्वास, पुनःस्थापनाको योजना बनाएको स्मरण गरे। उनले तालवरपर चक्रपथ बनाएर प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वास गराउन सकिने सुझाव पनि दिए।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्