हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती
कर्णाली, असोज ४ : कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ। उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी...कर्णाली, असोज ४ : कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ। उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हुँदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ।
सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा कालोपत्र हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहुँ सवारी साधन जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। सिम्लेखोला पुल नजिकै हिलोले उकालोमा गाडी नआउँदा घण्टौँ लगाएर ट्र्याक्टरले उद्धार गर्ने गरे पनि यात्रुले दिनभर कुर्नुपरेको जुम्लादेखि नेपालगञ्ज जान लागेकी यात्रु ममता नेपालीले बताइन्।
सिम्लेखोलामा एउटा गाडी चढ्न दुई घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको छ। बाटो बिग्रेर ठूला सवारी साधन तथा मालवाहक ट्रकलाई झन समस्या भइरहेको छ। सम्बन्धित निकायको ध्यान नजाँदा यो समस्या खडा भएको यहाँका स्थानीय बासिन्दा बताउँछन्।
निर्माण व्यवसायीले काम गरेन
निर्माण व्यवसायीले समयमा काम नगर्दा सो क्षेत्रमा सवारी साधन र मालवाहक गाडीले निकै धेरै दुःख पाउने गरेका छन्। डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सो क्षेत्रसहित दुई÷तीन स्थानमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले समयमै काम नगरीदिँदा यो समस्या भइरहेको छ।
कालीकोटका ठेकेदार मानबहादुर शाहीले ठेक्का लिएको उक्त क्षेत्रमा अहिलेसम्म काम गरेको छैन। काम समयमा नगरेको भन्दै कालोसूचीमा राख्नेसमेत कार्यालय प्रमुख भण्डारीले बताए। कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा करिब पुल धमाधम बनिरहेका समयमा सानातिना हिलाम्मे क्षेत्रले सकस बनाउँदै आएका छन्। रासस