डुबानमा परेका पुनर्वासका ८५ परिवारलाई राहत सामग्री
कञ्चनपुर, असोज २ : पुनर्वास नगरपालिका–५ सिमरीगाउँँका दोदा नदीको बाढीबाट प्रभावित ८५ परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ। बाढीले डुबानमा परेका परिवारलाई...
कञ्चनपुर, असोज २ : पुनर्वास नगरपालिका–५ सिमरीगाउँँका दोदा नदीको बाढीबाट प्रभावित ८५ परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ। बाढीले डुबानमा परेका परिवारलाई विजय गालिल युवा समूहको सहकार्यमा काठमाडौँ निवासी अमर विष्टको सहयोगमा दुई लाख रुपैयाँ मूल्य बराबरको चामल, दाल, तेल, नुन, साबुनलगायतका राहत सामग्री वितरण गरएको हो।
बाढीपीडित सिमरीगाउँका भलमन्सा राधेश्याम रानाले बाढीले विस्थापन गरेको महिना दिनपछि राहत सामग्री पाएको बताए। ‘यसअघि नगरपालिका र रेडक्रसका तर्फबाट स्वास्थ्यसम्बन्धी सामग्री पाएका थियौँ,’ उनले भने, ‘बाढीले अन्नलगागतका खाद्य सामग्री बगाएर तथा भिजाएर नोक्सान गरी निकै अप्ठेरोमा परेका बेला खाद्य सामग्री पाएका छौँ। यसले केही दिनको छाक टार्न पुग्छ।’
खाद्य सामग्रीका लागि सिमरीगाउँका बाढीपीडित स्थानीयवासीले स्थानीय निकायसँग खाद्य राहत सामग्री उपलब्ध गराइदिन मागसमेत गरेका छन्। विपद्मा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको सहयोगदाता विष्टले बताए। भदौ ११ गते चुरेक्षेत्रमा भएको वर्षाका कारण दोदा नदीमा बाढी आउँदा सिमरीका बासिन्दा डुबानमा परेका थिए। सुरक्षित स्थानमा सारिएका उनीहरू अहिले घर फर्किसकेका छन्।












