Kathmandu Press

अमेरिकासँग नेपाल ६ विकेटले पराजित

विश्वकप क्रिकेट लिग २अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
अमेरिकासँग नेपाल ६ विकेटले पराजित

काठमाडाै‌ं, असाेज १ : विश्वकप क्रिकेट लिगअन्तर्गत अमेरिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।

अमेरिकाको जितमा ओपनर स्टेभेन टेलरले सर्वाधिक ९२ रनको योगदान दिएका थिए। ६३ बल खेलेको टेलरले १२ चौका र ३ छक्का प्रहार गरे। यस्तै, मोनंक पटेल र जस्करण मल्होत्राले क्रमशः ३८ र ३६ रन जोडेपछि अमेरिकाले सहज जित हात पारेको हो।

नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान २ विकेट लिएपनि अरु बलर चल्न नसकेपछि नेपालले अपेक्षाकृत रुपमा जित हासिल गर्न सकेन। सन्दीपले सुशान्त मोदानी र करिम गोरेको विकेट लिएका थिए भने करणले टेलरलाई शतक पुरा गर्नबाट रोक्दै सञ्जय कृष्णमुर्तीलाई पभेलियन फर्काएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाएका थिए।

एकदिवसीय क्रिकेटमा तेस्रो अर्धशतक बनाउने क्रममा मल्ले १०५ बल खेल्दै ३ चौका प्रहार गरे। उनले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे भने पाँचौं विकेटका लागि गुल्सन झासँग ५१ रनको साझेदारी गरेका थिए।

नेपालका लागि कुशल भुर्तेलले ३६ रन बनाउँदा डेब्यू खेलाडी गुल्सन झाले २८ रनको योगदान दिए। यस्तै, विनोद भण्डारी १० रनमा आउट हुँदा आफिस सेख ३, कुशल मल्ल डकआउट भए भने सोमपाल कामीले २ रन मात्र बनाउन सके। यस्तै, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन बनाए।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्करले ४ विकेट लिए भने डेब्यू खेलाडी कायल फिलिप्स ३ विकट लिए।

ओमानमा जारी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा तीन खेल खेलेको नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा अमेरिकाविरुद्ध जित निकालेको नेपाल घरेलु टिम ओमानसँग पराजित भएको थियो। नेपालले अर्को खेलमा ओमानको सामना गर्नेछ।

प्रकाशित मिति: २३:०१ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्