विकासको अनुभूति हुने गरी सरकारले काम गरिरहेको छ : मन्त्री कार्की
इनरुवा, असोज १ : सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले...
इनरुवा, असोज १ : सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन्।
चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए। विकासलाई प्राथमिकतामा राखेर बजेट प्रतिस्थापन गरिएको उनको भनाइ थियो।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष-कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनीयम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।
फरक प्रसंगमा बोल्दै मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका माकुना हात्तीको छिट्टै व्यवस्थापन गर्नका लागि आग्रह गरे। हात्तीका कारणले आरक्षण क्षेत्र आसपासका जनताले निकै समस्याको सामना गर्नुपरेकाले त्यसको केही दिन भित्रै उचित व्यवस्थापन गर्नका लागि सम्बन्धीत मन्त्रालयलाई आग्रह गरे।











