स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा
बनेपा, असोज १ : अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन्।नेपाल पत्रकार महासंघ एशोसिएट...
बनेपा, असोज १ : अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन्।
नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेशको धुलिखेलमा आज शुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उनले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताए।
विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए। पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे।
सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पुर्याउने सम्वाहकको काम गरी पत्रकारिता जगतले ठूलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए। अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताए।
प्रतिगमनका विरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख उनले कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गरे। उनले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताए।












