उपन्यासकार मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
काठमाडौं, असोज १ : नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ।नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त...
काठमाडौं, असोज १ : नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ।
नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले आज कीर्तिपुरमा एक कार्यक्रमबीच लोकार्पण गरेका छन्। अधिकारकर्मीका रुपमा समेत नेपाली समाजमा परिचित लेखक सुन्दरको यस उपन्यासमा एकाँकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक अमेरिकी सैनिक आफ्नो पहिचान र थातथलो खोज्दै भक्तपूरको ताथली टेक्न आइपुगेको मर्मस्पर्शी कथा समेटिएको छ।
युद्धको विरोधमा जनसागर उर्लेको न्यूयोर्क शहर, इराकको युद्धभूमि मात्रै हैन भक्तपुर र काठमाडौँका ऐतिहासिक शहर र मन्दिरहरुमा पाठकलाई ओहरदोहर गराउन लेखक सफल छन्। भाषा परिष्कृत छ। शब्द चयनमा मिठास भेटिन्छ।
नेपाल भाषा बोल्नेहरुकै लागि पनि कतिपय शब्दहरु नौलो लाग्न सक्छ। पुस्तक २०१ पृष्ठको छ । मूल्य रु ३०० राखिएको छ। मल्लको यो पाँचौँ उपन्यास हो।
उपन्यासमाथि टिप्पणी गर्दै प्रा. मदनसेन बज्राचार्यले विश्व राजनीति र घटनाक्रमलाई सिलासिलाबद्ध ढङ्गले प्रस्तुत गर्दै नेवार समुदायको जीवन पद्धति र पूजा विधिलाई समेत लेखकले उपन्यासमा समेटेर जीवन्तता प्रदान गरेको बताए।
उपन्यासकार सुन्दरले चर्चा बटुल्न नभै मातृभाषामा उदाहरणीय कृतिहरु पस्किने प्रयासमा आफू रहेको स्पष्ट पार्दै जन्मदिनलाई खुशी खुशी स्विकार्ने मानिसले मृत्युको तिथिलाई पनि सहज रुपले स्विकार्छ कि स्विकार्दैन भन्ने एक दार्शनिक प्रश्नलाई समेत आफूले यस उपन्यासमा उठाउन खोजेको जानकारी दिए।












