चीनबाट ल्याइयो ४४ लाख डोज भेरोसेल खोप
सरकारले चीनबाट एकै दिन कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं ल्याएको छ।
काठमाडौं, असोज १ : सरकारले चीनबाट एकै दिन कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं ल्याएको छ ।
उक्त खोप सरकारले चीनसँग खरिद गरेर ल्याएको हो । खोप बोकेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप अवतरण गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको छ । त्यसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ । अब खरिद गरिएकोमध्ये चार लाख डोज मात्र ल्याउन बाँकी छ ।
विभागका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला गरी १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई यो खोप दिने योजना छ ।
यसैगरी, चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथि, ५५ जिल्लामा ५५ वर्षभन्दा माथि तथा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिको उमेर समूहलाई शुक्रबार आएको खोप वितरण गर्ने विभागको योजना छ ।











