Kathmandu Press

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

दार्चुला, भदौ ३१ : कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने भएको छ। चालु...
महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

दार्चुला, भदौ ३१ : कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने भएको छ। चालु आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको हो। 

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडक योजना प्रमुख आशुतोष कर्णले बताए। उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा दुई वटा, बैतडीको नीलगाड र कसानी खोलामा दुई वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा दुई ठाउँमा पक्की पुल निर्माण हुनेछन्। 

आर्थिक वर्ष २०६५र६६ बाट निर्माण सुरु गरिएको यो सडकखण्डले गति लिएको छैन। अहिले सडकको ट्र्याक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलङ्गा सदरमुकामदेखि टिङ्कर ३० किलोमिटर दूरी रहेको छ।

टिङ्कर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्र्याक खुलाइएको छ। यो सडकखण्डको त्रिदेशीय नाका टिङ्कर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्र्याक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

नेपाली सेनाले चालु आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। महाकाली लोकमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा कूल एक अर्ब तीन करोड बजेट विनियोजन भएको छ। सोमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्