गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर-जी सेवा
पोखरा, भदौ ३१ : नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ। आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय...
पोखरा, भदौ ३१ : नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ।
आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिए। उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए।
उनले भने, ‘हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौं।’ उनले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाए। उनका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ। तीमध्ये ५ लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताए। उनले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताए।
उहाँले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीको अनलाइन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उनको भनाइ छ।
नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते-पे’ सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिए।











