माधव नेपाल एमालेमा फर्किनु जरुरी छैन, अरु आए स्वागत गर्छौं : ओली
काठमाडौं, भदौ ३१ : एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल फर्कन आवश्यक नभएको बताएका छन्।एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित विस्तारित प्रशिक्षण...
काठमाडौं, भदौ ३१ : एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल फर्कन आवश्यक नभएको बताएका छन्।
एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता नेताले पार्टीमा गुटबन्दीबाहेक केही नगरेको आरोप लगाउँदै पार्टीमा उनको आवश्यकता नपर्ने बताएका हुन्।
आली भन्दा अघि बोल्दै एमाले उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी थिइन्। उनले सुदृढ एमाले बनाउन नेता नेपालको आवश्यकता औंल्याएकी थिइन्।
शाक्यप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पार्टीमा माधव नेपालको कुनै जरुरत नभएको बताएका हुन्। पार्टीलाई फेरि फुटाउन छ भने मात्र नेपालको आवश्यकता पर्ने भन्दै उनले घुमाउरो पाराले नेता नेपाललाई कसैले पनि पार्टीमा फर्किनू भनेर आग्रह गर्नुको औचित्य नभएको संकेत गरे।
विगतमा नेपाल समूह रहँदै आए पनि नयाँ पार्टी खुलेपछि एमालेमै अडिउका नेताहरुतर्फ संकेत गर्दै ओलीले माया ममता हुने भए पनि त्यसलाई त्याग्नुपर्ने बताए।
विभाजित भएर अर्को पार्टी खोलिसकेका नेता नेपालप्रति कटाक्ष गर्न केही समय उपयोग गरेका ओलीले नेपालले साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द पनि नबोलेको आरोप लगाए। नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोपसमेत लगाए।
नेपालको पछि लागेर केही नहुने उल्लेख गर्दै उनले अरु नेतालाई पार्टीमा फर्किन अनुरोध गरे। नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न ओलीले आग्रह गरे।











