एमालेबाट दक्षिणपन्थीहरू टुक्रिएर गए : बादल
काठमाडौं, भदौ ३१ : एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीबाट दक्षिणपन्थी धारा टुक्रिएर गएको बताएका छन्।एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित...
काठमाडौं, भदौ ३१ : एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीबाट दक्षिणपन्थी धारा टुक्रिएर गएको बताएका छन्।
एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित विस्तारित प्रशिक्षण कार्यक्रममा उनले २०७५ असार ३ गते पार्टी एकीकरण भएर नेकपा बनेपछि समाजवादको आन्दोलनलाई अगाडि बढाउने कि पार्टीलाई यथास्थितिमै राख्ने भन्ने दुई लाइन संघर्ष पार्टीमा चलेको बताए।
एकीकरणपछि तीन वर्षसम्म पार्टीमा पुँजीवादलाई हाबी गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ र एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाए। उनले प्रचण्ड र नेपाललाई दक्षिणपन्थीको संज्ञा दिए ।
पार्टीमा हाबी भएको पुँजीवादी धाराले सर्वोच्च अदालतको परमादेशको सहारामा एमाले नेतृत्वको सरकारलाई अपदस्त गरेको उनको भनाइ छ।
एमालेलाई विभाजनमा लगेर नेकपा एकीकृत समाजवादी पार्टी खोल्ने माधव नेपालतर्फ संकेत गर्दै उनले दक्षिणपन्थी धार पार्टीबाट अलग भएको उल्लेख। ‘यो राजनीतिक प्रतिगमन र षड्यन्त्र हो,’ उनले भने।
उनले सबै नेताकार्यकर्ता एकताबद्ध भएर एमालेलाइ राजकीय सत्तामा स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। वर्ग संघर्षको माध्यमबाट एमाले फेरि सत्तामा आउने दाबी उनले गरे।











