सुदृढ एमाले बनाउन नेतृत्वले मन फराकिलो बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य
काठमाडौं, भदौ ३१ : एमाले उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले बनाउन नेतृत्वले मन फराकिलो बनाउनुपर्ने बताएकी छन्।एमाले जिल्ला कमिटी काठमाडौंद्वारा...
काठमाडौं, भदौ ३१ : एमाले उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले बनाउन नेतृत्वले मन फराकिलो बनाउनुपर्ने बताएकी छन्।
एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित विस्तारित प्रशिक्षण कार्यक्रममा उनले २०७५ जेठ २ मा जो आउँछ उसैलाई मानेर अगाडि बढ्नुपर्ने र त्यसमा जालझेल हुन नहुनेमा जोड दिइन्।
उनले अन्तरपार्टी निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको स्पष्ट पार्दै अबको महाधिवेशनमा प्यानलगत चुनाव हुन नहुने धारणा राखिन्।
नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षणको अभावले कमिटी अराजकतातिर गएको उनको भनाइ थियो। ‘विचार शून्य भएपछि गुटबन्दीको सिकार भयौं,’ उनले भनिन्, ‘अब निर्मम समीक्षाको आँट नेतृत्व तहले गर्नैपर्छ।’
जनताले झन्डै दुई तिहाईको बहुमत दिएर केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति गराउँदा पनि पार्टी जनमतको सम्मान गर्न नसकेको उनले बताइन्। अबको निर्वाचनमा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नपर्ने उनको भनाइ थियो।











