सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, भदौ ३१ : अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। कोषको ६०औं वार्षिकोत्सवका अवसरमा भर्चुअल रुपमा आयोजित...
काठमाडौं, भदौ ३१ : अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
कोषको ६०औं वार्षिकोत्सवका अवसरमा भर्चुअल रुपमा आयोजित समारोहलाई आज (बिहीबार) उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानीले रोजगारी सिर्जना हुने, राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने र व्यापार घाटामा कमी ल्याउन सघाउने बताए।
अर्थमन्त्री शर्माले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले संस्थागत सुशासनमा ध्यान दिन र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाउन पनि कोषलाई सुझाए। उनले कोषले सञ्चयकर्ताहरुका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिए।
आर्थिक वर्ष २०७७/७८ सम्म सो कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा मात्र १ अर्ब ५८ करोड रहेको सो कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताका लागि सात हजार ५०० का दरले दुईपटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ। यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु दुई लाख सहायता प्रदान गर्दछ।
सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु ४० हजार काजकिरीया खर्च उपलब्ध गराउँछ। यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ।
२०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि १९९१ सालमा सैनिक द्रव्यकोष, विसं २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र विसं २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो।











