Kathmandu Press

नेता–कार्यकर्ताले पद र प्रतिष्ठाको स्वार्थप्रति लगाव राख्नुहुँदैन : प्रचण्ड 

काठमाडौं, भदौ ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्तामा पद र प्रतिष्ठाको स्वार्थप्रति लगाव बढेको भन्दै असन्तुष्टि प्रकट गरेका...
नेता–कार्यकर्ताले पद र प्रतिष्ठाको स्वार्थप्रति लगाव राख्नुहुँदैन : प्रचण्ड 

काठमाडौं, भदौ ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्तामा पद र प्रतिष्ठाको स्वार्थप्रति लगाव बढेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

दिवंगत नेता पोस्टबहादुर बोगटीको सातौं स्मृति दिवसमा पेरिसडाँडास्थित पार्टी कार्यालय आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता कार्यकर्ता नसच्चिएसम्म क्रान्तिकारी पार्टी निर्माण गर्न नसकिने बताए। 

 ‘पद र प्रतिष्ठा स्वार्थमा लगाव देखिएको छ,’ उनले भने, ‘पार्टी बनाउनेभन्दा पनि गुट बनाउने प्रवृत्तिको विकास भएको छ, माओवादी केन्द्र पनि बुर्जुवा पार्टी हुने दिशातिर गइरहेको छ।’

उनले अब पार्टीले श्रमजीवी जनताको घरदैलो गरेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उल्लेख गरे। पार्टीले आफ्नो कार्यदिशा मान्दै आएको जनवादी क्रान्ति र राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त तीव्र गतिमा क्रान्तिकारी पार्टी निर्माणको अभियानमा जुट्नुपर्नेमा उनले जोड दिए।

‘हाम्रो कार्यशैली जनतातिर फर्किने खालको हुनुपर्छ,’ उनले भने, ‘श्रमजीवी जनताको घरदैलो गरेर आत्मसमीक्षा गर्न जरुरी छ।’

प्रचण्डले आफ्नो पार्टी निर्माण र रुपान्तरणको महान अभियानतिर अगाडि बढेको उल्लेख गर्दै भने,  ‘८र१० वर्षको समय अरुलाई गाली गरेर बिताएछौं। अब आफैंलाई गाली गर्न थाल्नुपर्छ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ।’

उनले पार्टीमा गुटगत गतिविधिलाई निरुत्साहित गर्नुपर्ने पनि बताए। ‘गुट गर्दै रमाउने त माथिका नेता हुन्, हामीचाहिँ सच्चिनुपर्छ र पार्टीलाई जसरी भए पनि क्रान्तिकारी बनाउनुपर्छ, यो आजको आवश्यकता हो।’

प्रचण्डले पार्टीलाई शक्रिशाली बनाए आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो।

प्रचण्डले दिवंगत नेता बोगटी सरल र सहज भएको स्मरण गरे। उनले जहाँजहाँ पार्टीलाई असजिलो पर्‍यो, त्यहाँ उनकै स्मरण हुने प्चण्डको भनाइ थियो।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्