एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं, भदौ ३० : प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण आज (बुधबार) राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध...
काठमाडौं, भदौ ३० : प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण आज (बुधबार) राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध गरेपछि मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।
बैठक बस्ने वातावरण नभएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले कार्यसूचीका पहिलो र दोस्रो नम्बरलाई हटाएर तेस्रो नम्बरमा रहेको संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरेका हुन्।
अर्को बैठक असोज ५ गतेका लागि बोलाइएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने पहिलो कार्यसूची थियो।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कायर्सूची दोस्रो नम्बरमा थियो।











