बलिङ र ब्याटिङ दुवै नचल्दा नेपाल ओमानसँग ५ विकेटले पराजित
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजकाे दोस्रो खेलमा ओमानविरुद्ध बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ५ विकेटले पराजित भएको हो।
काठमाडौं, भदौ २९ : विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। ओमानविरुद्धको दोस्रो खेलमा बलिङ र ब्याटिङ दुवै नचलेपछि नेपाल ५ विकेटले पराजित भएको हो।
नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ११३ बल बाँकी छँदै ५ विकेट गुमाएर २०० रन जोडेको थियो। ओमानका लागि ओपनर जतिन्दर सिंहले आक्रामक इनिंग्स खेल्दै ६२ बलमा १०७ रन जोडेका थिए।
ओमानको जितमा मोहम्मद नदीमले ६५ बलमा ३८ रन, सुरज कुमारले १६ बलमा २० रन तथा आयान खानले १९ बलमा १८ रनको योगदान दिएका थिए।
नेपालका लागि करण केसी र कुशल मल्लले समान दुई विकेट लिएका थिए भने सुशन भारीले १ विकेट लिएका थिए। सन्दीप लामिछानेले भने पेटमा समस्या देखिएका कारण बलिङ गरेनन्। खेलकै दौरान उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले मिडल अर्डर चल्न नसक्दा ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन मात्रै बनाउन सक्यो । इनिङको दोस्रो बलमै कुलश भुर्तेललाई गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा आसिफले ११२ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ९० रन बनाए ।
आसिफको यो पहिलो एकदिवसीय शतक हो । एकदिवसीयमा नेपालका लागि यो दोस्रो उच्च स्कोर हो । आसिफले आमानमै भएको पपुवा न्युगिनविरुद्धको सिरिज मार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।
आसिफका अलावा नेपालका लागि करण केसी र ज्ञानेन्द्र मल्लले २१–२१ रन बनाउँदा रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए।
नेपालको इनिङ धरासायी बनाउने क्रममा बिलाल खानले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए। यस्तै नेस्टोर धाम्बेले २ विकेट लिए।











