लोकतान्त्रिक मूल्य मान्यताका लागि मैदानबाट लडिरहन्छु : नेता पौडेल
काठमाडौँ, भदौ २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले...
काठमाडौँ, भदौ २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आज चावहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए।
‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट सुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ,’ पौडेलले भने।
पार्टीलाई अझै लोकतान्त्रीकरण अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए।
आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता, कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए।
कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेत देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४औँ महाधिवेशनले महत्वपूण भूमिका खेल्ने विश्वास व्यक्त गरे।











