सिंगो गाउँ नै लालपुर्जाविहीन
कृष्णनगर, माघ १५- कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ ।
विसं २०५९ मा बस्ती विस्तार भएक....
कृष्णनगर, माघ १५- कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ ।
विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ ।
विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताए।
पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरुले भोगचलन गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो गरे। बस्ती बस्दा ७५० जनसङ्ख्या रहेको भए पनि अहिले सो बस्तीको जनसङ्ख्या करीब एक हजार ३०० को हाराहारीमा रहेको उनले बताए । बस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सो बस्तीबाट २०-३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताए ।
घरसहित एक परिवारलाई पाँच कट्ठा जमीन खेतीपाती गर्न तत्कालीन अवस्थामा दिइएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताए। स्थानीय तहमा घरधुरी कर तिरिरहेका भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको स्थानीयवासी लोकबहादुर सुनारले बताए ।
लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए। देशकै समस्याका रुपमा रहेको लालपुर्जाविहीनको समस्या देवीपुर गाउँमा मात्रै नभएर विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँमा पनि रहेको प्रदेश नं ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए ।