Kathmandu Press

कागेश्वरी धाममा एक हजार ५०० वृक्षरोपण

कागेश्वरी धाममा एक हजार ५०० वृक्षरोपण

काठमाडौं, भदौ २६ : काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको छ।

कागेश्वरी मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ स्थानीयले घरमै तयार पारेको करिब एक हजार ५०० फलफूल र विभिन्न जातका रुखका हुर्केका बिरुवा रोपिएको हो। वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुँयालले कागेश्वर महादेव मन्दिर धामका रूपमा स्थापित गर्न एक दशकअघि देखि अभियान चलाउँदै आएका छन्। 

कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसैगरी नगरपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। गोकर्ण–तारेभीर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक शहीद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिंहपौवालाईं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिए। कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ। यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: १९:०९ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्