सरकारी छाप र दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा पक्राउ

सुनसरी, भदौ २५ : सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका ५ तल्लो देउरालीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगरका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछाने रहेका छन्।
लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भनी सरकारी जागिर लगाईदिने भन्दै लोक सेवा आयोगको परीक्षाको प्रवेश पत्र समेत वितरण गरी सो वापत रकम लिई लेनदेन प्रकृतिको कागज बनाई झुक्याई ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
लामिछाने बस्दै आएको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप १ थान, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछाने समेत लेखेको रवरको छाप १ थान, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रवरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रवरको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम्प छाप १ थान र शाखा अधिकृत लेखेको छाप १ थान लगायतका विभिन्न कागजातहरु प्रहरीले फेला पारी बरामद गरेको छ।
उनी उपर सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसूरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।












